उदयपुर । उदयपुरको बरुवा क्याम्पसका सभापति (अध्यक्ष) पदका उम्मेदवार अजिब पराजुलीले आफूहरु प्यानलसहित दोब्बर मतान्तरले विजयी हुने बताएका छन् । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावी अभियानमा रहेका पराजुलीले सञ्चारकर्मीहरुसँग कुरा गर्दै क्याम्पसमा अध्ययनरत आम विद्यार्थीको मत आफूहरुलाई दोब्बर बढी प्राप्त हुने दाबी गरेका हुन् ।
त्रियुगा नगरपालिकास्थित शान्तिधाम क्षेत्रमा केही वर्षअघि मात्र स्थापना भएको क्याम्पसमा हाल साढे पाँच सय बढी विद्यार्थी रहेको भर्ना तथ्याङ्कमा उल्लेख छ । ‘हामीले बिगतदेखि वर्तमानसम्म विद्यार्थीहरुको मुद्धालाई अधिकतम रुपमा उठाउदै आएका छौँ ।’ उम्मेदवार पराजुलीले भने, ‘विद्यार्थी हक हितका लागि हामीले उठाएको आवाज नै जितको आधार हो ।’

त्यस्तै विद्यार्थी हितार्थ उठेका आवाज सम्बोधनका लागि दबाब दिदै उनीहरुको समस्या सम्बन्धित निकायसम्म पु¥याउन आफू र आफ्नो संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) र (अनेरास्ववियु)को संयुक्त प्यानलले पुलको रुपमा काम गर्दै आएको पराजुलीको भनाई छ । नेविसंघ र समाजबादी पार्टी निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको संयुक्त एकीकृत अभियानका कारण पनि प्यानल जित्ने सम्भावना निश्चित देखिएको सचिव पदका उम्मेदवार डेबिट राईले बताए ।
बरुवा क्याम्पसमा गठबन्धन प्यानलका लागि स्ववियु निर्वाचनमा नेविसंघको तर्फबाट अजिव पराजुली, सचिव डेबिट राई, कोषाध्यक्ष समाजबादी पार्टी निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनका सुधिर साह उम्मेदवार रहेका छन् । त्यस्तै सदस्यहरु सुमन कार्की, सुरक्षा परियार, समुना दनुवार, तीर्थ थापा, दीपेन्द्र तामाङ, राजेन्द्रकुमार दनुवार रहेका छन् । यस्तैगरी समानुपातिकतर्फका उम्मेदवारमा कुसुम लामा तामाङ, लक्ष्मी कटुवाल, बिनय चौधरी, सुदिप राउत, कला कार्की र रस्मी राई सदस्य रहेका छन् ।
नेविसंघ र अनेरास्ववियुको बरुवा क्याम्पस प्यानल अहिले विद्यार्थीहरुसँग भेटेर छलफल तथा प्रचारप्रसार कार्यलाई तीब्रता दिएको छ । भोली (शुक्रबार) मध्यान्ह १२ः०० बजेसम्म मात्र खुल्ला रुपमा प्रचारप्रसार गर्न पाइने चुनावी आचारसंहिता तोकिएपछि थप आक्रामक रुपमा विद्यार्थी र अभिभावक भेटघाटमा जुट्ने अभियान चलीरहेको समानुपातिक सदस्यतर्फकी उम्मेदवार कुसुम लामा तामाङले बताईन् ।

यी हुन् नेविसंघ र अनेरास्ववियुको चुनावी एजेण्डा
दुई संगठनको प्यानलले बरुवा क्याम्पसमा विद्यार्थी र शैक्षिक सुधारका लागि बिभिन्न एजेण्डाहरु सार्वजनिक गरेको छ । जसअन्तर्गत क्याम्पसमा अध्ययनरत छात्राहरुका लागि सेनीटरी प्याड, छात्रबृद्धिको व्यवस्था नभएकाले आगामी शैक्षिक सत्रदेखि कम्तीमा १५ प्रतिशतसम्म स्कोलरशीपको व्यवस्था गर्न आफूहरु नेतृत्वमा आए दबाब दिने उम्मेदवार पराजुलीको भनाई छ ।
त्यस्तै क्याम्पसमा खेलकुद सामग्री र खेलमैदानको व्यवस्थापन लगायतको आवश्यकता सम्बोधन गर्न सम्बन्धित निकायसँग पहल गर्ने, शौचालय सरफाई, शुद्ध खानेपानी र चमेनागृहको व्यवस्थापनलाई पनि संयुक्त संगठनले मुल मुद्धाको रुपमा उठान गरेको छ । विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षाका लागि क्याम्पसबाट नै ‘कोचिङ’को व्यवस्था, क्याम्पस क्षेत्रमा जमिन व्यवस्थित घेराबेरालाई पनि उनीहरुले प्राथमिकताका साथ एजेण्डाको रुपमा विद्यार्थीमाझ उभ्याएका छन् ।
त्यस्तै प्रबिधिको उच्चतम उपयोग गर्दै विद्युतीय माध्यमबाट क्याम्पसमा ‘इलाईब्रेरी’ स्थापना गरी आम विद्यार्थीहरुको पहुँचमा पुस्तकालय सहज उपलब्ध गहुने वातावरणका लागि दबाब दिनेलगायतका एजेण्डासहित नेतृत्व हात पार्न ढुक्क देखिएको बरुवा क्याम्पस संयुक्त गठबन्धनले नेकपा एमाले निकट अनेरास्ववियुलाई प्रमुख प्रतिद्धन्दी मानेको छ ।