शंकर रिखाम मगर
उदयपुर, कार्तिक ७।
उदयपुरको रौतामाई गाउँपालिकामा रौतामाई गोल्डकप फुटबल प्रतियोगिता यही कार्तिक ८ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने भएको छ। प्रतियोगितामा विजेता र उपविजेता टोलीलाई नगद पुरस्कारसहित ट्रफी र मेडल प्रदान गरिने आयोजकले जनाएको छ।
रौता स्पोर्ट्स क्लबको आयोजनामा हुने प्रतियोगिताको विजेता टोलीले एक लाख रुपैयाँ नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेता टोलीले ५० हजार रुपैयाँ नगदसहित मेडल प्राप्त गर्ने क्लबका अध्यक्ष हरि आले मगरले जानकारी दिए।
प्रतियोगितामा धरान दिल फुटबल क्लब, सप्तरी मौली फुटबल क्लब, उदयपुर स्कलर्स फुटबल एकेडेमी, सिराहा गोलबजार युनाइटेड फुटबल क्लब, दुधौली टिस्टा फुटबल क्लब, उदयपुर गाईघाट युनाइटेड, रौता स्पोर्ट्स क्लब र मोरङ जरहा फुटबल क्लब गरी आठ समुहको सहभागिता रहने अध्यक्ष मगरले बताए।
गोल्डकपको उद्घाटन खेल कार्तिक ८ गते दिउँसो ३ बजे धरान दिल फुटबल क्लब र सप्तरी मौली फुटबल क्लबबीच हुने तय भएको छ। रौतामाई गाउँपालिकाका अध्यक्ष वीरेन्द्रकुमार आले मगरको प्रमुख आतिथ्यमा उद्घाटन हुने कार्यक्रममा राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुति समेत रहने आयोजकले जनाएको छ।
स्थानीयस्तरमा फुटबल खेलको विकास, खेलाडीको प्रतिभा पहिचान तथा खेलकुदप्रति युवाको आकर्षण बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो। प्रतियोगिताले रौतामाई क्षेत्रमा खेलकुद गतिविधि बढाउनुका साथै स्थानीय स्तरमा खेलप्रेमी दर्शकलाई मनोरञ्जन प्रदान गर्ने अपेक्षा गरिएको छ। रोङगटे पिङ सहित बाल बालिकाहरुको लागि खेल सामाग्रीहरु र विविध मनोरञ्जनहरु प्रस्तुती गरिने आयोजकले बताएकोछ ।