काठमाडौं । नेपाली कांग्रेस दोलखाका पूर्व जिल्ला सभापति बर्मा लामाले पार्टीको १५औँ महाधिवेशनमा केन्द्रीय सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। करिब चार दशक लामो राजनीतिक तथा सांगठनिक अनुभवलाई आधार बनाउँदै लामाले जिल्ला तहमा हासिल गरेको अनुभवलाई अब केन्द्रीय नेतृत्वमा उपयोग गर्ने लक्ष्यसहित उम्मेदवारी घोषणा गरेका हुन्।
स्वर्गीय भीमबहादुर तामाङबाट प्रभावित भएर राजनीतिमा प्रवेश गरेका लामाको राजनीतिक यात्रा वि.सं. २०३६ सालतिर विद्यार्थी राजनीतिबाट सुरु भएको हो। नेपाल विद्यार्थी संघको संगठन विस्तारमा सक्रिय रहँदै उनी नेपाली कांग्रेसको राजनीतिमा स्थापित भएका थिए।
बहुदलीय व्यवस्था पुनःस्थापनापछि नेपाली कांग्रेस दोलखाको संगठन विस्तार र पुनर्गठनमा समेत लामाले सक्रिय भूमिका निर्वाह गरे। गाउँगाउँमा पार्टी संगठन विस्तार, कार्यकर्ताबीच समन्वय तथा राजनीतिक गतिविधिलाई निरन्तरता दिने काममा उनी संलग्न रहँदै आएका थिए।
लामाले नेपाली कांग्रेस दोलखाको जिल्ला सभापतिको जिम्मेवारी एक कार्यकाल सम्हालेका छन्। जिल्ला सभापति रहँदा पार्टी संगठनलाई चलायमान बनाउने, कार्यकर्ताबीच समन्वय गर्ने तथा जिल्लामा कांग्रेसको संगठन विस्तार गर्ने काममा नेतृत्वदायी भूमिका निर्वाह गरेको उनका राजनीतिक सहयात्रीहरू बताउँछन्।
लामाले राजनीतिमा पदभन्दा संगठन र व्यक्तिगत स्वार्थभन्दा पार्टीलाई प्राथमिकता दिनुपर्ने मान्यता राख्दै आएको बताइन्छ। आफूले चाहेको जिम्मेवारी वा उम्मेदवारी नपाउँदासमेत पार्टीको निर्णय स्वीकार गर्दै पार्टीका उम्मेदवारलाई सहयोग गर्ने गरेको उनका समर्थकहरूको दाबी छ।
पार्टीको आन्तरिक एकता, विधानको पालना, संस्थागत निर्णय तथा कार्यकर्ताबीचको आपसी सम्बन्धलाई संगठन सुदृढीकरणको आधारका रूपमा लिने लामाले भ्रातृ तथा शुभेच्छुक संस्थालाई आन्तरिक विवादबाट टाढा राख्दै उनीहरूको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने धारणा राख्दै आएका छन्।
लामाको राजनीतिक यात्राको अर्को पक्ष पूर्णकालीन राजनीतिक सक्रियता रहेको उनका निकटस्थहरू बताउँछन्। उनी अहिलेसम्म कुनै जागिर वा व्यवसायमा संलग्न नभई आफ्नो सम्पूर्ण समय पार्टी संगठनमा समर्पित गर्दै आएको दाबी गरिएको छ।
कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेसँगै लामाको राजनीतिक यात्रा जिल्ला नेतृत्वबाट केन्द्रीय तहमा प्रवेश गर्ने नयाँ चरणमा अघि बढेको छ। विभिन्न जिल्ला, समूह र पुस्ताबीच समन्वय गर्दै पार्टी संगठनलाई थप संस्थागत र प्रभावकारी बनाउने विषयलाई उनले आफ्नो उम्मेदवारीको प्रमुख आधारका रूपमा अघि सारेका छन्।
करिब चार दशक लामो राजनीतिक अनुभव, जिल्ला सभापतिको जिम्मेवारी सम्हालेको पृष्ठभूमि र पार्टी संगठनप्रतिको निरन्तर सक्रियतालाई राजनीतिक आधार बनाएका लामाको उम्मेदवारीसँगै नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री पदको प्रतिस्पर्धामा अर्को नाम थपिएको छ।