उपहार न्यूज
उदयपुर असोज ७
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उदयपुर जिल्लाका आठवटै स्थानीय तहमा गाउँ तथा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट अधिकांश पालिकामा सर्वसम्मत तथा निर्वाचन प्रक्रियामार्फत नयाँ नेतृत्व चयन गरिएको छ । कांग्रेसको निर्धारित महाधिवेशन कार्यतालिकाअनुसार गाउँ–नगरपालिका अधिवेशन सम्पन्न गर्दै पालिकास्तरमा नयाँ कार्यसमिति चयन गरिएको हो ।
उदयपुरको सदरमुकामसमेत रहेको त्रियुगा नगरपालिकामा प्रकाशकुमार खड्का दोस्रो कार्यकालका लागि नगर सभापतिमा निर्वाचित भएका छन्। नगर कार्यसमितिको उपसभापतिमा उमेश बुढाथोकी र शर्मिला थापा, सचिवमा उद्धव काफ्ले तथा सहसचिवमा तीर्थकुमार श्रेष्ठ चयन भएका छन् ।
त्यस्तै चौदण्डीगढी नगरपालिकामा पर्वत दाहाल नगर सभापतिमा निर्वाचित भएका छन्। तरुण दलका पूर्वअध्यक्षसमेत रहेका दाहाल निर्वाचित नगर सभापतिहरूमध्ये तुलनात्मक रूपमा युवा उमेरका नेता रहेको बताइएको छ। चौदण्डीगढी नगर कार्यसमितिको उपसभापतिमा उषा राई र राकेशकुमार चौधरी, सचिवमा केदारकुमार केसी तथा सहसचिवमा आरतीकुमारी चौधरी निर्वाचित भएका छन् ।
यस्तै बेलका नगरपालिकामा टंक आचार्य नगर सभापतिमा निर्वाचित भएका छन्। नगर कार्यसमितिको उपसभापतिमा प्रमिला विश्वकर्मा र राजेन्द्र बिष्ट, सचिवमा सुजता राई तथा सहसचिवमा झमक कार्की चयन भएको निर्वाचन क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत अधिवक्ता ब्रह्मदेव चौधरीले जानकारी दिएका छन् ।
उदयपुरको क्षेत्र नम्बर २ अन्तर्गतका पालिकाहरूमा भने सर्वसम्मत रूपमा नेतृत्व चयन गरिएको जनाइएको छ। कटारी नगरपालिकाको सभापतिमा पुष्कर खड्का चयन भएका छन् ।
त्यसैगरी रौतामाई गाउँपालिकाको सभापतिमा घमानसिंह थापामगर, उदयपुरगढी गाउँपालिकाको सभापतिमा चण्डेश्वर श्रेष्ठ, ताप्ली गाउँपालिकाको सभापतिमा महादेव रास्कोटी र लिम्चुङबुङ गाउँपालिकाको सभापतिमा हिकमत राई चयन भएका छन् । क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत अधिवक्ता जयन्तीकला तामाङका अनुसार क्षेत्र नम्बर २ अन्तर्गतका पालिकाहरूमा सहमतिको प्रयासमार्फत नेतृत्व चयन गरिएको हो । कांग्रेस महाधिवेशन कार्यतालिका अनुसार अब असोज १० गते प्रदेश सभा र क्षेत्रीय कार्य समिति चयन तथा प्रदेश र केन्द्रिय महाधिवेशन प्रतिनिधिको निर्वाचनको कार्यतालिका रहेको छ । कांग्रेसको प्रकाशित कार्यतालिकाअनुसार १५औँ केन्द्रीय महाधिवेशन २०८३ असोज १६ देखि १९ गतेसम्म हुने तय गरिएको छ ।
उदयपुरमा भने पालिका तहको नेतृत्व चयनसँगै आगामी क्षेत्रीय तथा जिल्ला तहको नेतृत्वका लागि राजनीतिक गतिविधि पनि तीव्र हुने देखिएको छ ।